काठमाडौं, पर्सा - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने बताएका छन् ।

उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधान अनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए ।

उनले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए । एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिए ।

नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता–कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गरे ।