काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरिदिएपछिको अवस्थाबारे तीन नेताहरुबीच छलफल हुने भएको हो ।

बुधबार हुने कार्यक्रमको लागि चितवन पुगेका नेताहरु काठमाडौँ फर्केपछि देउवासँग भेट गर्ने भएका हुन् । देउवाको सचिवालयले प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयले देउवासँग भेट्न खोजेको जनाएको छ ।

संसद् विघटनको कदमलाई अदालतले असंवैधानिक भनेर संसद् बिउँताएपछि प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा परेका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला नेकपा तथा कांग्रेस नेताहरु बीच सत्ता समिकरणको बारेमा कुरा हुने बताइएको छ ।