धनगढी - कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ।

विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा घाइते भएका अन्य ४ जनामा होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्।

उनीहरूको उपचार माया मेट्रो अस्पतालमा जारी छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताएका छन्।