काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ
काठमाडौं - चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।
विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन (काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस