ह्यारी र मेगन क्यानडामा, फोटो खिच्ने र प्रकाशित गर्नेलाई कारबाहीको चेतावनी
एजेन्सी - बेलायती राजपरिवारबाट अलगिएका ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेसँगै राजपरिवारबाट स्वतन्त्र बनेका उनी क्यानडा पुगेका हुन् ।
‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउने बताइएको छ । मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आएका थिए । उनीहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ ।
तर, क्यानडामा पुगेपछि मेगनका तस्बिर प्रकाशित भएपछि उनीहरु आक्रोशित भएका छन् । ड्युक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । डचिस आफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरुले झाडीमा लुकेर खिचेका थिए ।
फोटोग्राफरहरुले अनुमति नै नलिइ फोटो खिचेर दुव्र्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् । यसको लागि ह्यारी र मेगनले कानुनी उपचार खोज्नको लागि आफूहरु तयार रहेको बताएका छन् । उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ।
आइतबार लण्डनमा भएको एक च्यारिटी कार्यक्रममा गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उनँको भनाई थियो ।
फेसबुक पेज Like गर्नुहोस