विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई एकेडेमीले हटायो
काठमाडौं - परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट हटाएको छ ।
उक्त घटना शनिबार सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका सिता लक्ष्मी कर्माचार्यलाई हटाएको हो ।शनिबार एक विज्ञप्ती निकाल्दै एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिएको बताए । उनी १२ बर्षदेखि विद्यालयमा पढाउँदै आएकी थिइन्।
विज्ञप्तीमा भनिएको छ ‘सामाजिक शिक्षा विषयको शिक्षक सीतालक्ष्मी कर्माचार्यले शारिरीक दण्ड दिएको विद्यार्थी तथा अभिभावकहरूबाट गुनासो आएकोले पुनस् यसप्रकारको दण्ड दिने कार्यलाई निरूत्साहित गर्दै शिक्षकबाट दण्डरहित शिक्षणको सम्मान गर्दै निज शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई २०७६/११/२३ गतेदेखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको छ।
घटना के हो ?
गत साता शिक्षिका कर्माचार्यले कक्षा ६ र ७का विद्यार्थीको परिक्षा लिएकी थिइन् । त्यही परीक्षामा कम नम्बर ल्याएको भन्दै उनले विद्यार्थीलाई हात चिर्न बाध्य पारेकी हुन् । उनी सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन्।
बिहीबार नतिजा सुनाउँदै उनले कम नम्बर ल्याउनेले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन्। विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका हुन्। २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन्।
राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् ।धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएकी थिइन् । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।
फेसबुक पेज Like गर्नुहोस