काठमाडौं - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङमा सम्भावित रूपमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उद्धार प्रयासलाई निरन्तरता दिएको छ।
सुरुङभित्र मानिस फसेको आशंकामा नेपाली सेनाको टोलीले आज बिहानैदेखि संरचना खन्ने तथा खोजी कार्य अघि बढाएको हो। बिहान ९ बजे भैरवनाथ गणका थप १६ जना सैनिक उद्धार टोलीमा सहभागी भएपछि उनीहरूलाई सुरुङ क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।
यसअघि भदौ १४ गते भैरवनाथ गणका १५ जना सैनिक र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार अभियान सुरु गरेको थियो। सुरुङभित्रको अवस्थाबारे थप जानकारी लिँदै सम्भावित रूपमा फसेका व्यक्तिसम्म पुग्ने प्रयास भइरहेको छ।
नेपाल सरकारको अनुमतिपछि भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकोप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोलीले माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रको स्थलगत निरीक्षण (रेकी) गरेको थियो।
चिनियाँ टोलीले सोही क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अवस्थासमेत अवलोकन गरेको थियो। दुवै आयोजनाको प्रारम्भिक निरीक्षणपछि टोलीले प्राप्त जानकारी नेपाली सेनालाई उपलब्ध गराएको थियो।
भदौ १४ गते चिनियाँ उद्धार टोली माथिल्लो त्रिशूली–१ आयोजनामा उद्धार कार्यमा केन्द्रित भएको थियो भने माथिल्लो त्रिशूली थ्री बीमा नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोजी अभियान अघि बढाएको थियो।
माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा मानिस फसेको सम्भावना रहेकाले उद्धार तथा खोजी कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ।

.gif)



