गोलघरमा गोरे र शोभराजको झाँगिदो दोस्ती
काठमाडौं - नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ।
सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ ।
उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ ।
दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् । उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ ।
गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् । शोभराज जेल बसेको नौ वर्ष भयो । सबै मुद्दामा कैद भुक्तान गरेर छुट्न अब चार वर्ष बाँकी छ । जेलर बाँस्कोटाका अनुसार ०८० मा उनको सबै कैद सजाय सकिनेछ ।
फेसबुक पेज Like गर्नुहोस