काठमाडौं - नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अस्पतालको प्रयोगशाला, कोशी अस्पतालको प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना, झापाका १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५८४ पुगेको छ । जसमा ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ । यस्तै, आज बिहान मात्र ३२ जना नयाँ संक्रमित थपिएका थिए । 

हालसम्म कूल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् ।