काठमाडौं - एनआईसी एशिया बैंकका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभुषित गरिने भएको छ ।

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

यस अवसरमा एनआईसी एशिया बैंकले राष्ट्रपति र सरकारप्रति कृतज्ञता जाहेर गरेको छ ।

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका छन् ।

यस बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् । साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।