काठमाडौं - कोरोनाको  ‘रेड जोन’मा परेको कपिलवस्तुलाई जिल्ला प्रशासन कार्यालयले जेठ २० गतेसम्म सील गर्ने निर्णय गरेको छ । वैशाख २९ गतेदेखि सोमवार (आज)सम्म गरिएको उक्त निर्णय कार्यान्वयन अवधि बढाएर पुनः १५ दिन लम्बाइएको हो ।

जिल्लालाई थप १५ दिन सील गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

पौडेलले जिल्लामा कोरोना तीव्र रूपमा फैलिएपछि जोखिम कम गर्न जिल्लालाई सील गर्ने अवधि थपिएको बताए । यसअघि गरिएको निर्णयलाई यथावत राखिएको छ तर तरकारी र खाद्यान्न किन्ने दिन भने घटाइएको छ ।

अब हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यान्न किन्ने समय छुट्टाइएको छ । जिल्लामा आवतजावतमा पूर्ण निषेध गरिएको छ ।

अत्यावश्यक बाहेकका सबै उद्योगधन्दा कलकारखाना उद्योग व्यवसाय, सवारी साधानमा पूर्ण रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सील गरिएको हो ।