काठमाडौं - भारतको तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

सरकारको खाद्य विभागले उक्त छापा मारेको थियो । त्यसक्रममा दुईजना व्यापारीलाई पक्राउ गरिएको थियो उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।

हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा छापा मार्दा यस्तो खुलासा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अनुसन्धानका क्रममा अर्को डरलाग्दो तथ्य पनि फेला परेको छ । सिकारीहरुले विषालु चामल खुवाएर काग मार्ने र त्यसरी मरेका कागहरूठेला व्यापारीहरुलाई बेच्ने गरेका रहेछन् ।

कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका थिए । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने गरिएका समाचार सार्वजनिक भएका थिए ।