काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतीय दूतावासले लेखेको पत्रबारे समयमै जानकारी नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले पत्रबारे थाहा नहुँदा आफुँ लज्जित हुनुपरेको भन्दै क्षमासमेत मागेका छन् ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्‍यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

ओलीले आफुँलाई जानकारी नदिनु भुलचुक हो या नियतबस हो त्यो बुझ्दै गरेको बताएका छन् । ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो रु त्यो म बुझ्दैछुु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै आएका थिए । प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट कुनै पत्र नआएको दाबी गर्दै आएका थिए।

गत असार २१ मा बसेको नेकपाको संसदीय दलको वैठकमा पनि ओलीले ‘कस्तो पत्र रु कसले पठाएको पत्र रु’ भन्दै सांसदहरुप्रति आक्रोश पोखेका थिए ।

प्रधानमन्त्रीले त्यस्तो दाबी गरेको २ दिनपछि अर्थात् असार २३ गते भारतीय दूतावासले सो मितिभन्दा एक साताअघि नै परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाएको पत्र बाहिरिएको थियो। पत्र पठाउँदै दूतावासले विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो।

भारतीय दबाबपछि विषादी परिक्षण रोकिएको भन्दै अहिले सरकारको निकै आलोचना भईरहेको छ । सत्तारुढ दलकै नेता तथा सांसदहरुले पनि सरकारको कदमप्रति असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।