काठमाडौं - जबरजस्ती करणीको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ बस्नेत गाउँ घर भएका हरिकृष्ण भन्ने हेमन सिंह बस्नेतलाई नियन्त्रणमा लिएको हो। सोमबार वैदेशिक रोजगारीका लागि विमानस्थल पुगेका बस्नेतलाई प्रहरीले विमानस्थलबाट नै नियन्त्रणमा लिएको हो।

स्काभेटर चालक बस्नेतले गत जेठ १४ गते धादिङ हलेदे खोलास्थित स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी मुख थुनी जबरजस्ती करणी गरी फरार रहेका थिए।

त्यसपछि उनी भागेर भारतमा लुकिछिपी बसेको प्रहरीले जानकारी दिएको छ। भारतबाट नै सबै प्रकृया मिलाएर कुवेत जान नेपाल आएका उनलाई त्यहीबाट नियन्त्रणमा लिएको हो।