एन आई सी एशिया बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बिच वित्तीय सम्झौता
काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेड र (के आइ ए) ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज लिमिटेड बिच वित्तीय साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका हुँन्।
उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले बैंकलाई वित्तीय साथी बनाउदै बैंकले (के आइ ए) ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उल्लेख छ । साथै बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याजदर तथा ० दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुबिधायुक्त कर्जामार्फत कारहरू खरिद गर्न सकिनेछ ।
काठमाडौं उपत्यकाका उपभोक्ताहरुको लागि प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा पनि रहेको छ भने यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहनुहुने ग्राहकहरुले लिन सक्नेछन् । बैँकले उक्त कर्जा आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै प्रदान गर्नेछ साथै यस कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ । बैंकले रातो नम्बर प्लेटका निजीे सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।
उक्त सुविधा कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट लिन सकिनेछ । कर्जाअवधि सवारी धितो राखेमा ८ वर्षसम्म र सवारी र घरजग्गा दुबै धितो राखेमा अधिकतम १५ वर्षसम्म हुनेछ । पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र एक वर्ष पश्चात् बैंकले ८ दशमलव २५ प्रतिशत वा बेसरेट ८ दशमलव २५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस