केही दिन अझै भारी वर्षा हुने, बाढीपहिरोबाट १९ को मृत्यु, दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह
काठमाडौं - वर्षापछिको बाढी र पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने दर्जनौं घाइते भएका छन् । पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ। तराई विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ।
दुई दिनसम्म उच्च सतर्कतामा रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।
साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले मौसम तथा बाढीको दैनिक पूर्वानुमानलगायतका सूचना तथा बुलेटिनहरु वेबसाइट, इमेल, सामाजिक सञ्जालमार्फत सम्प्रेशण गर्र्दै आइरहेको विभागका प्रवक्ता एवं वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले बताइन् । नदीका जोखिमयुक्त तटीय क्षेत्रमा उच्च सतर्कताको सूचना एसएमएसमार्फत प्रवाह गरिरहेको उनले बताइन् ।
विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीबारदेखि मनसुन थप सक्रिय भएको छ । बिहीबारदेखि नेपालका मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ । जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई शुक्रबार बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ ।
विभागकै मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउनसक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको छ ।
फेसबुक पेज Like गर्नुहोस