काठमाडौं - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक अभ्यास गरिरहेको दावी गरेका छन् ।

मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदूतहरुलाई पनि आग्रह पनि गरे ।

मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको पनि बताए ।

मन्त्री ज्ञवालीले नेपालको कूटनीतिलाई सन्तुलित ढंगले अघि बढाउन पूर्व राजदुतहरुको अनुभवलाई सरकारले ग्रहण गरिरहेको पनि स्मरण गराए ।

मन्त्री ज्ञवालीले राष्ट्रहितमा केन्द्रित हुने गरी सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको पनि बताए । कार्यक्रममा मन्त्री ज्ञवालीले ‘नेपालको कूटनीतिक अभ्यासमा पूर्व राजदुतहरुको अनुभव’ नामक पुस्तक पनि विमोचन गरेका थिए ।