बागलुङमा तामा खानीको सम्भाव्यता अध्ययन शुरुः स्थानीयवासी खुशी
बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन ।
दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका पाँच वटा गहिरा प्वालसमेत भएकाले तामा खानीको सम्भाव्यता अध्ययन थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।
सो तामा खानीमा तामाको अवस्था र सम्भावनाका विषयमा दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन थालेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकरी दिए । “वडाभित्र रहेका स्रोत र साधनको पहिचान गर्ने कार्यक्रमअन्तर्गत तामा खानीको सम्भाव्यता थालेका हौँ”, लामिछानेले भने, “खानीका तामाको अवस्थाका विषयमा ल्याब परीक्षणपछि मात्रै पत्ता लाग्नेछ ।” खानीलाई उत्खनन् गरेर आर्थिक उपार्जन गरी वडालाई समृद्ध बनाउने उद्देश्यले खानीको सम्भाव्यता अध्ययन शुरु गरेको वडा कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस