काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद गुमेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर जानकारी दिएका हुन् । 

पद गुमाउनेमा अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरी छन् । मंगलबार माओवादी केन्द्रले ती नेतालाई कारबाही गरेको सूचना संसद् सचिवालयमा दर्ता गरेको थियो।

उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । अहिले उनीहरु चारै जना मन्त्री छन् ।