क्यारेन्टाइन मै जन्मिए दुई शिशु
डोटी - भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले क्यारेन्टाइनमा नै शिशु जन्माएकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्यारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।
यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्यारेन्टाइनमा बसेकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार २१ वर्षीया गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्यारेन्टाइनमा ७४ जना छन् । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु,’ वडाध्यक्ष खड्काले भने, ‘आरडीटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।’
त्यसैगरी शिखर नगरपालिका–३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौंको क्यारेन्टाइनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छिन् । उनी भारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्यारेन्टाइनमा बस्दै आएकी छिन् ।
पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए । अहिले महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस