काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरूले रोष्ट्रम घेराउ गरेपछि प्रतिनिधिसभाको आजको बैठक पुनः स्थगित भएको छ ।

बैठक सुरू हुनेबित्तिकै सर्लाही घटनामा संसदीय छानबिन समिति गठनको माग गर्दै काँग्रेस र राजपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई बस्न पटक–पटक आग्रह गरे पनि उनीहरू बसेनन् । त्यसपश्चात् सभामुख महराले संसदको कार्यवाही अगाडि बढाउने जनाएपछि विपक्षी दलका सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए ।

रोष्ट्रम घेराउ र नाराबाजी बिच नै सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विनियोजन विधयेक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक ९तेइसौँ संशोधन०को सम्बन्धमा राष्ट्रिसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

सचिव योगीले विपक्षी दलका सांसदहरूको नाराबाजी बिचमै उक्त सन्देश पढेर सुनाए । सन्देश सुनाएर सिद्धिएलगत्तै सभामुख महराले संसद बैठक असार ३० गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेको जानकारी गराए ।