अन्तत: चर्को दबाबपछि भारतीय तरकारी र फलफूलको विषादी परीक्षण रोकियो
काठमाडौं - सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणकार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ।
विषादी परीक्षणका लागि पर्याप्त तयारी र पूर्वाधार नभएकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने नीतिबाट सरकार पछि हटेको हो । ६ महिनाका लागि यो नीति स्थगित गरिएको स्रोतले बताएको छ ।आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए।
‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने र यथासिघ्र प्रयोगशाला बनाउने क्याविनेट निर्णय भएको छ’ यादवले भने।यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो।
काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो।सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस