काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमितको व्यक्तिगत विवरण नखुलाउन सञ्चार माध्यमहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रशारण गरेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विरामीको अनुमति बिना यस्तो नगर्न अनुरोध गरेका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म नेपालमा पीसीआर र आरडीटी विधिबाट कुल १५ हजार ८ सयमा कोरोना परीक्षण भइसकेको छ ।

जसमध्ये १६ जनामा संक्रमणको पुष्टि भएको छ । एकजना निको भएर डिस्चार्ज भइसकेका छन् भने अन्य १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

अहिले देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन्।