आलमको थुनछेक बहस सकियो
रौतहट - हत्या अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत रौतहटमा प्रतिवादीका तर्फबाट शुक्रबार १० जना अधिवक्ताले बहस गरे । योसँगै आलमको पक्षमा २८ जना अधिवक्ताले बहस गरेका छन् ।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि वादीका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी र जिल्ला न्यायाधिवक्ता खगेन्द्रराज कटवालले बहस गरेका थिए ।
यस्तै, कर्तव्य ज्यान मुद्दाको जाहेरवालाका तर्फबाट सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए ।जिल्ला न्यायाधीश दीपक ढकालले कर्तव्य ज्यान मुद्दाका जाहेरवाला मृतक त्रिलुकप्रताप सिंहका बुवा श्रीनारायणप्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिएका थिए । अभियुक्त आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिइयो ।
बहस सकिएसँगै अब आलमको थुनछेक मुद्दाको आदेश शुक्रबारै हुने सम्भावना रहेको छ । अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।
आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अरु १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ ।
वि।सं। २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।
फेसबुक पेज Like गर्नुहोस