राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठीमाईको पूजा आराधना
काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । उक्त अवसरमा उनले कमलपोखरी छठ पर्व आयोजक समितिमा रहेर उल्लेख्य योगदान पुर्याएर नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेकी थिइन् ।
त्यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गरेका छन् । त्यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।
काठमाडौंको कमल पोखरीमा विगत नौं वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ । यसै अवसर पारेर सर्वसाधारणले पनि कमल पोखरीमा शनिबार छठ पर्वको मुख्य दिन सूर्यको आराधना, उपासना र पूजा गरी हर्षोउल्लासका साथ मनाई रहेका छन ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म काठमाडौं उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा विशेष गरी रौनकताका साथ मनाईन्छ । छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरिन्छ ।
छठ पर्वमा सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक मान्यता पनि रही आएको छ ।
फेसबुक पेज Like गर्नुहोस