काठमाडौं - नेपालमा आज एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आजमात्रै पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा १ गरी ५७ जनामा नयाँ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनम प्रवक्ता विकास देवकोटाले नयाँ सङ्क्रमण देखिएकालाई विभिन्न अस्पतालमा उपचारका लागि लैजाने तयारी भइरहेकाे जानकारी दिनुभएको छ । उहाँका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । सङ्क्रमितमध्ये एक सय ५८ जना पुरुष र ३३ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले गत २४ घण्टामा दुई हजार दुई सय ३६ जनाकाे कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । अहिलेसम्म पीसीआर प्रविधिबाट १८ हजार ९ सय ६४ र आरडीटीबाट ५९ हजार ६ सय २७ वटा नमुना परीक्षण गरिएको छ ।

काठमाण्डौ उपत्यकामा १ जना र उपत्यकाबाहिर २ सय २७ गरी देशभर २ सय २८ जना आइसोलेशनमा उपचाररत छन् । त्यसैगरी १२ हजार ७ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ९ सय ७४ , प्रदेश २ मा १ हजार ५ सय ३४, वाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २ सय ९२, प्रदेश ५ माख ५ हजार ४ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय ५४ जना क्वरेण्टीनमा छन् । 

नेपालमा अहिलेसम्म एक सय ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकाेमा सबैभन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पर्सामा काेराेना सङ्क्रमितमध्ये तीन जना निकाे भएका छन् । 

उदयपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १४ जना उपचारपछि निकाे भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना र बाँकेमा २४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

रुपन्देहीमा १६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ, काठमाण्डाैमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भएकाेमा पाँचै जना उपचारपछि निकाे भएका छन् । कैलालीमा पनि सङ्क्रमण देखिएका चारै जना उपचारपछि निकाे भएका छन् । 

बारामा अहिलेसम्म तीन जनामा सङ्क्रमण देखिएकाे छ । राैतहटमा तीन जनामा सङ्क्रमण देखिएकाेमा एक जना उपचारपछि निकाे भएका छन् । बागलुङमा दुई जनामा सङ्क्रमण देखिएकाेमा दुई जना नै निकाे भएका छन् । 

चितवन र झापामा दुई/दुई जनामा सङ्क्रमण देखिएकाेमा एक/एक जना उपचारपछि निकाे भएका छन् । बर्दियामा एक जनामा सङ्क्रमण देखिएकाे छ । 

भाेजपुर र कञ्चनपुरमा सङ्क्रमण देखिएका एक/एक जना उपचारपछि निकाे भएका छन् । सप्तरी र सर्लाहीमा एक/एक जनामा सङ्क्रमण देखिएकाे छ ।