काठमाडौं - सरकारले पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको दर उच्च रहेकोले अस्पतालहरुले मात्र थेग्न नसक्ने जनाएको छ ।

बुधबार स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक रुपमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढिरहेको भन्दै यही अवस्था रहेमा अस्पतालहरुले थेग्न नसक्ने बताएका हुन् । गौतमले उपत्यकामा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी गराए ।

नजिकिँदो चाडपर्वमा किनमेल गर्न बजार जाने र भीडभाड गर्नेहरुले कोरोना महामारीलाई बिर्सिएको हो कि भन्दै उनले प्रश्न पनि गरे । उनले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुनपर्ने प्रष्ट पार्दै स्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा, पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान अनुरोध गरेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११२६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।