धादिङ - रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (तिजोरी)तोडफोड गरी त्यसमा रहेको नगद चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते धादिङको गल्छी गाउँपालिका–४, बेलखुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको सेफ फेला परेको थियो। सेफभित्र कति रकम थियो भन्ने यकिन हुन सकेको थिएन।

स्थानीय व्यक्तिहरूले आफूखुसी उक्त सेफ तोडफोड गरी भित्र रहेको रकम निकालेर लगेको सूचना भदौ १२ गते प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाएपछि प्रहरीले घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धान तथा विभिन्न स्थानमा गरिएको खानतलासीका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यी हुन् बाढीले बगाएर ल्याएको सेफ फोडेर पैसा चोरी गर्ने आरोपितहरु

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामा गल्छी गाउँपालिका–४ मास्टारका पवन पौडेल (२७), वीरबहादुर राना मगर (४१), विनोद गिरी (३५), नवराज भेटुवाल (३३), पूर्णलाल श्रेष्ठ (४०), विष्णुमणि अधिकारी (३१), कृष्ण मगर (३६), शिवबहादुर राना मगर (४९), युवराज अधिकारी (४६), सुचिमबहादुर राना मगर (४६), सबिन श्रेष्ठ (२४), प्रेमबहादुर राना मगर (४३), अनिल भेटुवाल (१९), रामशरण सुवेदी (४९), मिनबहादुर राना मगर (३८), देवेन्द्र राना मगर (३२), दीपक तामाङ (३१), राजकुमार भेटुवाल (३६), दिनेश अधिकारी (२९), दिनेश पुलामी (३०), टेकबहादुर राना मगर (३०) र सन्तोष श्रेष्ठ (३२) रहेका छन्।

त्यस्तै गल्छी गाउँपालिका–६ आदमघाटका सुशान्त श्रेष्ठ (४७), गल्छी–८ सिमपानीका सानुभाइ श्रेष्ठ (३६), सिद्धलेक गाउँपालिका–७ आदमटारका सानु खतिवडा (४९), चितवन राप्ती नगरपालिका–६ घर भई हाल धादिङ गजुरी गाउँपालिका–८ आदमघाट बस्ने विचारी आले मगर (२९), गल्छी–८ सिमपानीका नारायण श्रेष्ठ (३२) र अग्नि आले मगर (२०) तथा पर्सा बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने सकुर अन्सारी (२८) रहेका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

बरामद रकमको आधिकारिक स्रोत तथा बाढीले बगाएर ल्याएको सेफमा उक्त रकम कसरी आइपुग्यो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहेनरहेकोबारे पनि खोजी भइरहेको छ।