विश्व बैङ्कले दियो ४५ करोड अमेरिकी डलर, सडक सञ्जालमा खर्च गरिने
काठमाडौं - विश्व बैङ्कले नेपाल सरकारलाई ४५ करोड अमेरीकी डलर सहायता प्रदान गरेको छ । यो सहायता यातायात पूर्वाधारको क्षमता, सुरक्षा, सुधार लगायत सीमापार व्यापारको दक्षता सुधार र रणनीतिक सडक सञ्जाल व्यवस्थापनमा प्रयोग हुनेछ । यो आयोजना नेपाल सरकार र विश्व बैङ्कबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो ।
नेपाल सरकार र वल्र्ड बैङ्कबीच भएको हस्ताक्षर सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद (जर्भोस) ले सम्झौतामा हस्ताक्षर गरे । नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको बताउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक बृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्चगुणस्तरीय पूर्वाधारहरूको आवश्यकता रहेको जानकारी दिए ।।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दूहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड–१९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउन मदत पुग्ने बताए । सुरक्षा तथा जलवायु अनुकुलनदेखि सडक व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा नागरिकसहितको सहभागितामा यस आयोजनामार्फत असल अभ्यासहरूको शुरुवात गर्न तयार रहेको सचिव ढुंगानाले जानकारी गराए ।
फेसबुक पेज Like गर्नुहोस