ट्रम्प महाभियोग प्रकरण : तल्लो सदनले माथिल्लो सदनलाई पठायो राष्ट्रपतिविरुद्ध आरोपपत्र
काठमाडौं - संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ । राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ ।
राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो ।
हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन् । विपक्षी डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो ।
ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको सिनेटले अब उनी विरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्ने बिबिसीले जनाएको छ ।
आरोपपत्रहरूमा हस्ताक्षर गर्नुअघि आयोजित एउटा पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफूहरूले इतिहास रचेको बताइन् । उनले भनिन्, "यी कागजातले यो कुरालाई प्रस्ट पारेका छन् कि राष्ट्रपति ट्रम्पलाई उनले गरेका कामका लागि जवाफदेही बनाइनेछ र भविष्यमा अब कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न सोच्ने छैनन्।"
सभामुखले हस्ताक्षर गरेपछि आरोपपत्रहरूलाई सिनेट पठाइएको थियो । रिपब्लिकन सिनेटर मिच मक्कनेलले सिनेटमा पढेर सुनाइएपछि आरोपपत्रहरूलाई बिहीवार अपराह्न सार्वजनिक गरिने बताएका छन्।
उनका अनुसार मङ्गलवार महाभियोगसम्बन्धी सुनुवाइ शुरू गरिनेछ । शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्याएको राष्ट्रपति ट्रम्पमाथि आरोप लगाइएको छ। तर ती आरोपहरूलाई उनले शुरूदेखि नै अस्वीकार गर्दै आएका छन् । रिपब्लिकनहरूले महाभियोगलाई 'पक्षपातपूर्ण आक्रोशबाट बढाइएको कदम' भन्दै आएका छन्।
फेसबुक पेज Like गर्नुहोस