भक्तपुर - भक्तपुरकी कोरोना संक्रमित एक महिला वडा सदस्य भएको खुलेको छ । संक्रमित ४२ वर्षीया महिला भक्तपुर नगरपालिकाको वडा नं ९ को महिला सदस्य रहेको खुलेको छ । उनीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

जनप्रतिनिधि भएका कारण उनी लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरणलगायतका काममा सक्रिय रहेको पाइएको छ । त्यसै क्रममा उनमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्नेलगायतका काम गरिने जानकारी दिएकी छिन् ।

संक्रमितलाई पाटन अस्पताल लगिएको पाण्डेले बताइन् । संक्रमितको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिलासहित नौं जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।