पेट्रोलियम पाइपलाइनको उद्घाटन आज
काठमाडौं - दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन आज (मंगलबार) उद्घाटन गरिदैँछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ(आफ्नो देशबाट संयुक्त रुपमा आज पेट्रोलियम पाइपलाइनको डिजिटल माध्यमबाट उद्घाटन गर्नेछन् । उद्घाटन अपरान्ह १२:१५ मा गरिदैँछ । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रने छ ।
पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी-अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर छ । जसमा नेपालतर्फ ३६ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई एक अर्कामा प्रत्यक्ष रुपमा भिडियो जोडिने छ ।
पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ ।
सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक रुपमा करोडौँ ढुवानी खर्च कटौती हुने नेपाल आयल निगमको दाबी छ।
नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस