काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन्।

प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन्।

सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।

उनीहरूबीच असार १७ गते मध्यराति नयाँ सत्ता समीकरणका लागि ७ बुँदे सहमति भएको थियो । यसअघि सहमति सार्वजनिक नभएको भन्दै कांग्रेस र एमालेको आलोचना हुँदै आएको थियो ।

सहमतिमा राजनीतिक स्थायित्वका लागि तदनुकूल कानूनको निर्माणलाई प्राथमिकता दिने, अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक र बाह्य लगानीको वातावरण बनाउने सहितका विषय समेटिएका छन् ।