कलैया - राहतमा बिग्रेको सामान बाँडेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा बुधबार राती मेयर यादवसहित १२ जना धरौटीमा रिहा भएका हुन् ।

मेयर यादवले २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएको जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बताए । यस्तै, दाल व्यापारी तेजकरण जैन पनि त्यति नै रकम तिरेर छुटेका छन् ।

वडा नम्बर १– वडाध्यक्ष हरिओम सोनार, ७–का सर्फुल्लाह अन्सारी, ११– का सर्वनारायण चौधरी, १३–का राजनप्रसाद कुर्मी, २६–का महेश साह, २७–का हक, २०–वडाका वडासचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेर रिहा भएको थापाले जानकारी दिए । मेयर यादव गत मंगलबार पक्राउ परेका थिए ।