काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबीच चार दिनअघि बसेको बैठकले आगामी केन्द्रीय समतिमा खरो रूपमा उत्रिने तयारी गरेपछि संस्थापनले विषय प्रस्ट पारेको छ । पौडेल–सिटौलापक्षको बैठकले संस्थापनको गलत नियत देखिएको भन्दै २२ असारमा बस्ने केन्द्रीय समिति बैठकमा त्यसको भण्डाफोर गर्ने निर्णय गरेको थियो । यद्यपि संस्थापन इतरका समूहले आफ्नो एजेण्डा जोडतोडका साथ उठाउने तयारी गरेका छन्। 

नेविसंघको महाधिवेशन पार्टीले गर्नुपर्ने

नेविसंघमा तदर्थ समिति बनाउनुभन्दा पाँच महिनाभित्र कांग्रेसले नै निर्वाचन समिति बनाएर १२औँ महाधिवेशन गर्नुपर्ने हो । तदर्थ, समिति बनाउँदा फेरि चार वर्ष जाने र नेविसंघमा झन् अन्योल छाउने मत संस्थापन इतरको छ। 

६ महिनाभित्र महाधिवेशन

कांग्रेसका गठन गर्न बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने ।

महाधिवेशन समयमै गर्ने वा सार्ने तय गरिनुपर्ने १४औँ महाधिवेशन सार्ने हो वा समयमै गर्ने हो यसको घोषणा तत्काल गरी त्यसैअनुसार अघि बढ्नुपर्ने उनीहरूको माग छ । 

संरचनामा निर्वाचन

पार्टीका वडादेखि प्रदेशसम्मका संरचना विधानमा संक्रमणकालीन खण्डमा व्यवस्था भएको निर्वाचनअनुसार नै पूरा गर्नुपर्ने । 

विभागमा भागबन्डा

विधानअनुसार गठन गर्नुपर्ने ३० केन्द्रीय विभागमध्ये मुख्यमा भागबन्डा गर्नुपर्ने । संगठन, प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, संघीय मामिला तथा स्थानीय, पेसागत तथा बुद्धिजीवीसहितका महत्वपूर्ण  विभागमा सम्मानजनक सहभागिता भन्दै भागबन्डा खोज्ने । 

क्रियाशील सदस्यका लागि नीति

क्रियाशील सदस्यता वितरणका लागि नीति नै पास गर्नुपर्ने मत यो पक्षको छ । हचुवाको भरमा सदस्यता वितरण नगरी मापदण्ड बनाउनुपर्ने माग उनीहरूको छ ।