विप्लवलाई सञ्चारमन्त्री बाँस्कोटाको यस्तो चेतावनी
काठमाडौँ - सञ्चारमन्त्री एवँ सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह क्रमशः संगठित आतंकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको आरोप लगाए ।
सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताउँदै उनले वार्तामा नआए विप्लव समूहले क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।
‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ आउनुस्’, आक्रामक तवरमा प्रस्तुत भएका मन्त्री बाँस्कोटाले भने ।
बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर, १२ वटा सिम फेर्दै तर्साएर वितण्डा नमच्चाउन समेत विप्लव समूहलाई चेतावनी दिए ।
प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत उनले आक्रोश पोखे । ‘उहाँहरूले निर्दोष मान्छे मार्दा क्रान्ति र प्रहरीले पक्राउ गर्ने खोज्दा गोली चलाउँदा कोही झुक्किएर पर्न गयो भने दमन रु’, मन्त्री बास्कोटाले भने ।
फेसबुक पेज Like गर्नुहोस