काठमाडौं - संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुबै सदनको बैठक स्थगित गरिएको हो ।

६३ वर्षीया सांसद छन्त्यालको बुधबार विहान बाँसवारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ जिल्ला क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट संविधान सभा सदस्य निर्वाचित भएकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक असार १८ गते बिहिबार दिउँसो १ बजे र प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।