गृहमन्त्री बादलको उपस्थिति कम
काठमाडौं - राष्ट्रियसभाको सबै बैठकमा उपस्थित हुनेमा नेकपा सांसद उदया शर्मा रहेकी छिन् । उनी राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् ।
राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथो अधिवेशनमा भने एक दिन छुटेको उनी स्वयं बताउँछिन्। ‘तीनवटा अधिवेशनका सबै बैठकमा उपस्थित भएँ, चौथो अधिवेशन (चालू)मा भने एक दिन अनुपस्थित हुनुर्पयो । एकदिन गयल भएकोमा खल्लो लागिरहेको छ,’ सांसद शर्माले भनिन्, ‘संसद्मा उपस्थित भएर बैठक नसकिँदासम्म बसिरहन्छु ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उपत्यका बाहिर रहेका कारण तिमल्सिना एउटा बैठकमा उपस्थित भएका थिएनन् । सो दिनमा उपाध्यक्ष शशीकला दाहालले बैठक शुरू र अन्त्य गरेकी थिइन् ।
संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा राष्ट्रिय सभाका सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बैठकमा सबैभन्दा कम उपस्थित भएको देखिन्छ । मन्त्री थापा मात्र ३२ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।
सत्तारूढ दल नेकपाको सचिवालय सदस्य समेत रहेका बादल राष्ट्रिय सभामा रहेका नेताहरूमध्ये सबैभन्दा शीर्ष तहका हुन् ।
गृहमन्त्रीको हैसियतमा संसदीय समितिका बैठक, प्रतिनिधि सभाको बैठक तथा प्रदेशमा भएका सुरक्षा गोष्ठीमा सहभागी हुनुपरेका कारण गृहमन्त्री बाादलको उपस्थिति कम भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन्।
फेसबुक पेज Like गर्नुहोस