काठमाडौं - संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सरकारी सञ्चारमाध्यम तथा संघीय संसद् सचिवालयको विद्युतीय पेजमार्फत उजुरी आह्वान गरिनेछ ।

समितिले उजुरीका लागि १० दिनको समय तोकेको छ । त्यसपछि असोज २० गते बिहान सवा ११ बजे बैठक बसेर प्राप्त उजुरी खोल्ने निर्णय गरिएको छ ।

सरकारले गत शुक्रबार भारत, चीन, अमेरिका, बेलायतसहित १३ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ। त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ। जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ।

यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाइनेछ ।

सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।