काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शासकहरुमा दूरदृष्टि नहुँदा नेपाल पछि परेको बताएका छन् ।

पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई मंगलवार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपाल विद्वान पूर्खाको देश भएको बताएका थिए । तर शासकहरुको सोंचका कारण नेपाली समाज पछि परेको उनको भनाइ थियो ।

पौराणिक कालका ऋषीमुनीहरुले नेपाली भूमिबाट नै ज्ञान प्राप्त गरेको भन्दै प्रधानमन्त्री ओलीले भने,  ‘शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो ।’ तर वर्तमान सरकार नेपाली समाजलाई अग्रगमनतिर लैजान प्रतिबद्ध र दृढ रहेको समेत उनको भनाइ थियो ।

त्यस्तै देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो योग्यता हासिल गरेका मानिसहरु समेत बरोजगार बन्नु परेको ओलीले बताए ।

‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन’, प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा उसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ ।’विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुपर्ने समेत प्रधानमन्त्री ओलीको भनाइ थियो ।