आजदेखि सोह्र श्राद्ध सुरु
काठमाडौं - पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मलाई सोह्र श्राद्ध अबधि मानिन्छ।आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा र पिण्डदान गरिने भएकाले यस अबधिलाई सोह्र श्राद्ध भनिएको हो।
सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्छन्। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनुका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।
सोह्रश्राद्धको अबधिमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्ने गरेको छ।पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ।
फेसबुक पेज Like गर्नुहोस