काठमाडौं - लकडाउन उल्लंघन गर्नेमाथि आज(सोमबार)बाट थप कडा गरिएको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कने र हिंडडुल गर्नेलाई पक्राउ गरी सोही ठाउँमै तीन घण्टा उभ्याएर कारबाही गरिने भएको हो ।

यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँमा पक्राउ परेका छन् सोही ठाउँमा दुई घण्टा होल्ड गरिदै आईएको थियो ।

तर आजबाट भने थप एकघण्टा बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दूरी कायम गरेर मात्रै सडक छेउमै राखिन थालिएको छ ।

अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । आज बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरबाट लकडाउन उल्लंघन गर्ने ७ सय ४० जना पक्राउ परेका छन् ।