काठमाडौं - गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता भइरहेको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो । यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
निधनपछि रविन्द्रको परिवारले गृहमन्त्री गुरुङ स्वयं अस्पतालमा आएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका थिए । मेहताका आफन्त यता शिक्षण अस्पताल परिसरमा धर्नामा बसेका थिए भने उता सुनसरीको कप्तानगञ्जमा सडकमा रुख ढालेर प्रदर्शन गरिरहेका थिए ।
त्यसैले गृहमन्त्री गुरुङ स्वयं त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । गएको आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
सुनसरीमा दुई र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएकोमा रवीन्द्रको मृत्युसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

.gif)



