काठमाडौं - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । 

रवि कसैको हत्यारा नभएको भन्दै चितवनमै भेला भएर उनको रिहाइका लागि प्रदर्शन गर्नेहरुमाथि प्रहरीले दमनको नीति लिएसंगै खराब आचरण र व्यवहार देखाएको भन्दै मुद्दा चलाएको हो । 

चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाइएका गत साउन ३२ गते पक्राउ परेका चार जना समर्थक भने जनही पाँच सय रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । 

रिहा हुने चारै जना चितवन भरतपुरका हुन् । ३५ वर्षीया कोपिला न्युरे, ४० वर्षीया गीता भुजेल, २४ वर्षीय गोविन्द बास्तोला र १८ वर्षीय प्रवीण गैरे रहेका छन् । 

बाँकी १८ जना भने भदौ २ गते र भदौ ३ गते पक्राउ परेका हुन् । प्रहरीले भदौ २ गते १० र भदौ ३ गते ८ जनालाई पक्राउ गरी मुद्दा चलाएको हो । 

प्रहरीले रविका समर्थकहरुबाट प्रहरीमाथिसमेत आक्रमण गरेको भन्दै कार्वाही गरिएको जनाएको छ । 

१६ दिनअघि चितवनको होटलमा मृतअवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हत्या हो वा आत्महत्या भन्ने कुराको पुष्टि गर्ने पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन । 

शरीरमा केही डामहरु रहेका कारण हत्याको आशंका गरिए पनि प्रहरीले भने रवि लामिछानेसहित तीन जनालाई आत्महत्याको मुद्दामा आरोपी बनाएर अदालतमा पेश गरेको छ ।