काठमाडौं - नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहमत चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिलाई जिम्मेवारीबाट हटाइएको हो।
निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको ठाउँमा हरिचन्द्र राना, मुगुका सभापति ऐनबहादुर शाहीको ठाउँमा हरिजङ्ग शाही, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको ठाउँमा नारायणबहादुर बलायर र बागलुङका सभापति जित शेरचनको ठाउँमा तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले भने महाधिवेशन प्रक्रिया तत्काल स्थगित गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतमा पार्टीको वैधानिकता, नेतृत्व तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषय विचाराधीन रहेकाले अदालतको फैसला नआएसम्म महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका हुन्।
अदालतमा विषय विचाराधीन रहेकै अवस्थामा एकपक्षीय रूपमा सांगठनिक गतिविधि अघि बढाउनु उचित नहुने उनको जिकिर छ।

.gif)


