काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।

‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण तथा नेतृत्व क्षमता विकासका विषयमा छलफल भइरहेको संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

कार्यशालाको पहिलो दिन ‘नेपालको चित्र, हामी कहाँ छौँ ?’ शीर्षकमा अनिल चित्रकारले नेपालको वर्तमान अवस्था र चुनौतीबारे प्रस्तुति दिनेछन्। उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे धारणा राख्ने कार्यक्रम छ।

त्यस्तै, महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे प्रस्तुति दिनेछन्। पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण तथा केन्द्रीय सदस्यको भूमिकाबारे प्रस्तुति दिनेछन्।

संगठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया स् कसरी प्रयोग गर्नेरु’ विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। कार्यशालामार्फत पार्टीको संगठनलाई थप व्यवस्थित बनाउने, नेतृत्व क्षमता विकास गर्ने तथा आगामी राजनीतिक गतिविधिका लागि केन्द्रीय सदस्यलाई तयार गर्ने उद्देश्य राखिएको छ।