काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बेवारिसे बिरामीलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको शुल्क नेपाल रेडक्रस सोसाइटी (नेरेसो) काठमाडौं जिल्ला शाखाले व्यहोर्ने भएको छ।
यससम्बन्धी त्रिपक्षीय सम्झौतामा आज राष्ट्रिय ट्रमा सेन्टर, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र केन्द्रीय रक्तसञ्चार सेवाबीच हस्ताक्षर भएको हो। सम्झौता २०८४ असार मसान्तसम्म लागू रहनेछ।
सांसद लालबिक्रम थापाको उपस्थितिमा सम्पन्न कार्यक्रममा ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल तथा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मिरत्न तुलाधर, केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टर सामाजिक सेवा विभाग प्रमुख इन्दिरा पाण्डे तथा ट्रमा सेन्टरका विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।
नेरेसो काठमाडौं जिल्ला शाखाले विगत करिब डेढ वर्षदेखि मौखिक सहमति र आवश्यकताका आधारमा बेवारिसे बिरामीका लागि आवश्यक रगत तथा रगतजन्य पदार्थको शुल्क केन्द्रीय रक्तसञ्चार सेवालाई उपलब्ध गराउँदै आएको थियो।

.gif)


