एजेन्सी - शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो ।

यूएनएचसीआरले बाबु र उनकी २३ महिनाकी छोरीको नदी किनारामा तैरिएको अवस्थामा शव भेटिएको र यो निकै हृदयविदारक रहेको जनाएको छ।मेक्सिको र संयुक्तराज्य अमेरिकालाई छुट्याउने रियो ग्रान्डे सीमानदी हो ।

राष्ट्रसंघले एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन ‘अस्वीकार्य’ रहेको जनाएको छ ।अमेरिकाले राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाइ गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्न थालेका छन्। जसका कारण आप्रवासीहरूको मृत्यु नियमितझैं हुने गरेको छ ।

केही दिनअघि पनि एक भारतीय बालिकाको मेक्सिको सीमामा लू लागेर पानीविना तड्पिएर मृत्यु भएको समाचार आएको थियो ।यूएनएचसीआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताएको छ । मानिसहरू सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छू, ग्रान्डीले बताए।

यूएनएचसीआरले सबै मुलुकलाई यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेको छ ।