धादिङ - धादिङमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। पहिरो पन्छाएसँगै सडकमा सवारीसाधनको आवागमन सुचारु भएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित जवाङखोलानजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बन्द हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका थिए भने यात्रुले पनि सास्ती खेप्नुपरेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार बिहान पहिरो हटाउने काम सम्पन्न भएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो। अहिले दुवैतर्फबाट सवारीसाधन नियमित रूपमा आवागमन गरिरहेका छन्।
निरन्तर वर्षाका कारण थप पहिरो खस्ने जोखिम बढेपछि प्रहरीले बिहीबार राति पृथ्वी राजमार्गका जोखिमयुक्त खण्डमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको थियो। काठमाडौंबाट धादिङ हुँदै बाहिरिने सवारीसाधनलाई नागढुंगामै रोकिएको थियो।
प्रहरीले वर्षायाममा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

.gif)



