एजेन्सी - इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।

चीनको वुहानबाट फैलिएको कारोनाको कारण इटालीमा पनि सयौं जनाको ज्याइ गइरहेको अवस्थामा उनले कोरोना भाइरस प्रभावित १४ राज्यका त्यति संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएका हुन् ।

कोरोनाको कारण मोडेना, पर्मा, पियासिन्जा, जोभ्रा, भर्सेलीलगायत १४ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । साथै उक्त संक्रमण अझै फैलिदै गएको कारणले ती राज्यका जिम, संग्राहलय, रिसोर्टहरु बन्द गरिएको छ । 

युरोपमा सबैभन्दा बढी इटालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबारसम्म भाइरसबाट मर्नेको संख्या २ सय ३० पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५० जनाको मृत्यु भएको त्यहाँ अधिकारीहरुले जनाएका छन् ।